मन्त्रिपरिषद्मा थपिए चार मन्त्री

राष्ट्रिय
– आज शपथ ग्रहण

सेवासञ्चार
काठमाडौं, ६ असोज

गत २७ भाद्रमा गठित सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा आज चार मन्त्री थपिएका छन् । थपिएका मन्त्रीहरुमा महावीर पुन, अनिलकुमार सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन् । चारै मन्त्रीहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा सोमबार (आज) दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उनीहरुले शपथ ग्रहण गरेसँगै वर्तमान मन्त्रिपरिषद्मा मन्त्रिहरुको संख्या ८ पुगेको छ । यसअघि प्रधानमन्त्रीमा सुशीला कार्की, अर्थ मन्त्रीमा रामेश्वर खनाल, ऊर्जा मन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् ।

आज नियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास मन्त्री र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन् । यसअघि सिफारिस भए पनि स्वास्थ्यमन्त्रीबाट डा. सङ्गीता कौशल मिश्राको नाम अन्तिममा आएर रोकिएको छ ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा व्यक्तित्वहरुको सहभागिता थियो ।

कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाउन सफल मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन् । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुन् भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *